२०८१ मङ्सिर २३ गते आइतवार

थारु समुदायमा माघीको रौनक

दाङ, ३० पुस ।
पश्चिम तराईका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी भोलि मनाइने भएकाले केही दिनअघिदेखि नै थारू बस्तीमा चहलपहल बढेको छ ।

कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार अर्थात ठूलो पर्वका रुपमा मनाउँछन् ।

माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन आज थारू समुदायमा जिता मार्ने अर्थात् सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने गरिन्छ । आज रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ ।

भोलि माघीका दिन बिहानै नजिकैको खोला नदीमा गएर नुहाउने गरिन्छ । नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ-आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निणर्य पनि माघीमै गरिन्छ ।

माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।

माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् । माघीको अवसरमा ठाउँठाउँमा मेला महोत्सव पनि हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस