
रोल्पा, २८ पुस ।
रोल्पामा दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको संख्यामा वृद्धि भएको छ । जिल्लामा सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या पनि बढेको हो ।
पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्षमा पहिलो श्रीमानको नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।
सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो ।
जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्ने गरी आउने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।