२०८१ जेष्ठ ५ गते शनिवार

सल्यानमा चार दर्जन बढी योजना अलपत्र

सल्यान, २४ पुस ।
ठेकेदार र सरकारी निकायको लापरबाहीका कारण सल्यानमा दुई दशकमा ४ दर्जन बढी योजना अलपत्र परेका छन् । जिल्लामा ठूला योजना मानिने १० सिँचाइ, ८ खानेपानी, ४ विद्यालय भवन, ४ पक्की पुल, ३ झोलुंगे पुल र ७ कालोपत्रे सडक, दुई विद्युत्, अलपत्र परेका छन् ।

सल्यान जिल्ला अस्पतालको भवन र ४ आधारभूत अस्पताल भवन पनि अलपत्र परेका छन् । अलपत्र परेका योजना १ करोडदेखि २० करोड रुपैयाँसम्मका हुन । जिल्लामा सबैभन्दा धेरै सिँचाइ योजना अलपत्र पर्दा जिल्लाभरिको करिब ७ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझै रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०७४ मा छत्रेश्वरी गाउँपालिका-६ र ७ जोड्न शंखमूलनजिकै शारदा नदीमा पुल निर्माणको काम अलपत्र छ । सम्झौतामा २०७६ असार २१ सम्म पुल सम्पन्न गर्ने उल्लेख थियो । तर ५ वर्षको अवधिमा २ पटक म्याद थपे पनि उसले मुस्किलले आधा काम मात्र सिध्याएको छ । एक वर्षयता पुल निर्माणको काम ठप्प छ ।

कार्यालयका अनुसार झन्डै ५ हजार परिवार खानेपानी सुविधाबाट वञ्चित छन् । कार्यालयका प्रमुख पदमराज देवकोटाले एक वर्षयता राईरा, लिफ्ट सिँचाइ र अन्य तत्कालीन सिँचाइ डिभिजन कार्यालय छँदा २० वर्षअघि देखिका सिँचाइ योजना अलपत्र परेको बताउनुभयो ।

सडक डिभिजन कार्यालय दाङले सल्यानमा दुई दर्जन बढी योजना सञ्चालन गरेको छ । राप्ती राजमार्गको क्षेत्रमा मात्र सञ्चालित २१ योजनामध्ये ५ सडक र २ पक्की पुल गरी सात योजनाको काम अलपत्र परेका कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले बताउनुभयो ।

उहाँका अनुसार राप्ती राजमार्गको चोरखोला कपुरकोट क्षेत्रको २ किलोमिटर सडक कालोपत्रे गर्न ४ करोड ८० लाख बजेट विनियोजन गरिएको थियो । जसका लागि श्यामशंकर एन्ड आकांक्षा जेभीले २ करोड ७१ लाख रुपैयाँमा सम्झौता गरेको थियो । ऊर्जा/कृषक/मस्त जेभी कम्पनीले पटारे-मोख्ला १ किलोमिटर सडक कालोपत्रेको काम पनि लामो समयदेखि अलपत्र छ । उसले ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

सडक डिभिजन कार्यालयका अनुसार भाबेश कन्ट्रक्सन प्रालिले पनि बेलाइती-घारी-पटारेसम्मको १ किमि सडक कालोपत्रेको लागि १ करोड १५ लाख रुपैयाँमा सम्झौता गरेको थियो । त्यो सडक पनि अलपत्र छ । गंगोत्री निर्माण सेवाले मोख्ला-बाग्चौर, खरिबोट-बांगेलाखुरी र बांगेलाखुरी-खौला १/१ किलोमिटर कालोपत्रे गर्न ३ करोड रुपैयाँमा सम्झौता गरेको थियो । त्यो काम पनि पूरा भएको छैन ।

यस्तै अनामिका कन्ट्रक्सनले सितलपार्टीदेखि खलंगाको १ किमि कालोपत्रे गर्न १ करोड ७ लाखमा गत वर्ष सम्झौता गरेको थियो । ठेक्का लिएका कम्पनीले विभिन्न कारण देखाउँदै काम अलपत्र पारेका हुन् । छत्रेश्वरी गाउँपालिका-६ र ७ जोड्ने शंखमूलस्थित शारदामा निर्माणाधीन पक्की पुल एसबी/सूर्य जेभी कम्पनीले जिम्मा लिएको थियो । ६ करोड ८० लाखको र शारदा नगरपालिका-१ श्रीनगर र ख्यानिखाल जोड्न श्रीनगरमा शारदामै निर्माणाधीन १० करोडको पुल सिद्धार्थ/दर्शन/जलजला/जयमा स्वर्गद्वारी कम्पनीले अलपत्र पारेको छ । -इकान्तीपुरबाट

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस