दाङ, २३ पुस ।
दाङ तुलसीपुरको मावि सेन्टर विद्यालयमा मेघा परियोजना सुरु भएको छ । संघिय सरकारले बजेट विनयोजन गरेपछि मेघा परियोजनाको काम सुरु भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो ।
प्रधानाध्यपक पौडेलका अनुसार पहिलो चरणमा विद्यालयको ८ कोठे प्रशासनिक भवन निर्माण गरिने छ । १ कारोड ५४ लाख ४४ हजार ६ सय ४२ रुपैयाँको स्टमेट गरिएको उक्त प्रशासनिक भवनका लागि पुस २० गते टेण्डर आब्हान गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो । मेघा विद्यालयको सुचीमा परेपछि संघिय सरकारले पहिलो चरणमा उक्त बजेट विनियोजन गरेको हो ।
मेघा विद्यालयको विकासका लागि २५ करोडको डिपीआर यसअघि तयार भइसकेको विद्यालयका प्रधानाध्यापक पौडेलको भनाइ छ । विद्यालयमा पाँच सय छात्र-छात्रा अट्न सक्ने क्षमताको दुई वटा छात्रछात्रा बस्ने छात्राबास, २४ कोठाको प्रयोगशाला भवन, ३२ कोठाको एक्याडेमिक भवन, हलसहितको प्रशासनिक भवन, अन्डरग्राउण्डेड सहितको पार्कीङ निर्माण गरिने छ । जहाँ विद्यालयका प्रिन्सीपलको आवासको समेत व्यवस्था गरिएको छ ।
मेघा विद्यालयको सुचीमा पर्नका लागि विद्यार्थीको संख्या, तीन बर्षको शैक्षिक उपलपब्धी, विद्यालयको जग्गाजमिन-आम्दानी, प्राविधिक शिक्षा, प्रयोगशाला, दरबन्दी लगाएतका १५ वटा इन्डिकेटर पुरा गर्नुपर्ने हुन्छ ।
संघिय सरकारले शैक्षिक सुधारका लागि आधारभुत सुविधा सहितको ठूला विद्यालयको अवधारणा अनुसार मेघा विद्यालयको रणनीतिअघि सारेपछि विद्यालयले यस्तो अवसर पाएको हो । अहिले सो विद्यालयमा दुई हजार बढी विद्यार्थी रहेको मावि सेन्टरमा इलेक्ट्रीकल्स, आईटी र ल्याब लगायत विभिन्न प्राविधिक शिक्षाको पढाई हुदै आएको छ ।