तुलसीपुर, १७ पुस ।
तुलसीपुर उपहानगरपालिका वडा नम्बर ७ मा आजदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता शुरु भएको छ । वडा कार्यालय खर्चवामा आवश्यक जनशक्ति र प्राविधिक उपकरण व्यवस्थापन गरेर राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ताको काम शुरु भएको हो ।
पहिलो चरणमा वडाका जेष्ठ नागरिक र अशक्त नागरिकको विवरण दर्ता शुरु गरिएको वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो । प्रतिदिन कम्तिमा १ सय २० जनाको विवरण दर्ता गर्ने गरी आजदेखि शुभारम्भ भएको उहाँले बताउनुभयो ।
विवरण दर्ताका लागि वडाले टोकन सिस्टम लागु गरेको छ । टोकन भएपछि लाइन लाग्नुपर्ने बाध्यता नभएको वडा अध्यक्ष जिसीले बताउनुभयो । वडा अध्यक्ष जिसीका अनुसार वडाका सबै नागरिकको विवरण दर्ताको काम सक्न एक महिना बढी लाग्ने भएको छ ।
विवरण दर्ताका लागि सहयोगीसहित ६ जना कर्मचारी, जनप्रतिनिधि पनि खटेका छन् । वडा अध्यक्ष जिसीले अभियानलाई सफल बनाउन सम्पूणर् जनप्रतिनिधि, वडा सचिव लगायतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । यसअघि जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट वितरण दर्ता हुने गरेकोमा भिडभाड बढेपछि वडास्तरबाटै विवरण दर्ताको काम शुरु भएको हो ।
नेपालको संविधानले राष्ट्रिय परिचयपत्रलाई एकीकृत प्रणालीमा व्यवस्थापन गरि त्यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय योजनासँग जोड्ने नीति लिएको छ । राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, कर सम्बन्धी अभिलेख, बैंकिङ कारोबार, सामाजिक सुरक्षा लगायतमा परिचयपत्र प्रयोग गर्न सकिन्छ ।