२०८१ असोज ४ गते शुक्रवार

नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै

दाङ, १७ पुस । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइतबार नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ ।

२०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो ।

पछिल्ला दिनहरुमा भने यसले फेशनको रुप लिएको छ ।

युवा युवतीहरु आजको दिन टोपी तथा राष्ट्रिय पोशाकमा सजिन थालेका छन् । नेपालमा भादगाउँले तथा ढाकाको टोपीको प्रचलन रहेको छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

विशेष गरी पहाडी क्षेत्रमा जुनसुकै समुदायमा पनि टोपी अभिन्न वस्त्र हो ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

यसैगरी, ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित आइतबार एक समूहले ‘राष्ट्रिय पोशाक दिवस’ मनाउँदैछन् ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार प्रसार गर्ने गरेका छन् ।

वि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको हो ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस