सल्यान, २४ मंसिर ।
विद्यार्थी नभएपछि सल्यानको एक विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । सल्यानको सबैभन्दा पुरानो विद्यालयको रुपमा चिनिने शारदा नगरपालिका ३ पौवाबारीस्थित खड्गदेवी प्राथमिक विद्यालय विद्यार्थी बिहीन भएपछि बन्द हुने अवस्थामा पुगेको हो ।
स्थानीय अभिभावकहरूले आफ्ना बालबालिकालाई निजी स्कुलहरूमा भर्ना गर्ने क्रम बढेपछि उक्त विद्यालय विद्यार्थी शून्यप्राय : बनेको हो । एकदेखि पाँच कक्षासम्म संचालित विद्यालयमा प्रधानाध्यापकसहित तीन स्थायी र एक बालविकास सहयोगी गरी विद्यालयमा चार जना शिक्षक कार्यरत छन् ।
वि.स. १९९० ताका भाषा पाठशालाको रुपमा संचालित उक्त विद्यालय लामाचौतारा स्थित खड्गदेवी मन्दिरको प्रांगणमा भवन निर्माण गरेपछि ४० वर्षअघि खड्गदेवी प्रावि नामाकरण गरिएको थियो ।
सम्बन्धित निकाय र शिक्षकहरूकै लापरबाहीका कारण यो पुरानो विद्यालय अहिले नाजुक अवस्थामा पुगेको स्थानीय डिल्ली बस्नेतले गुनासो गर्नुभयो ।
कुनै बेला २ सयसम्म विद्यार्थी भर्ना हुने गरेको उक्त विद्यालयमा हाल १६ जना मात्रै भर्ना भएका छन् । तर उपस्थिति शुन्य हुने गरेको छ । अंग्रेजी पढाइ प्रति आकर्षण बढेलकाले सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण घटेको प्रधानाध्यापक मिजु महर्जनले बताउनुभयो ।