दाङ, १७ मंसिर ।
आज ३१ औ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाईदै छ । ‘समावेशी विकासका लगि रुपान्तरित समाधान : पहुँचयुक्त र समातामुलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।
तुलसीपुर उपमहानगरपालिकामा पनि आज अपांग समाज सुधार केन्द्रले दिवसको अवसरमा कार्यक्रम राखेको छ । बिहान साढे ११ बजेपछि विभिन्न सरोकारवालाको उपस्थितिमा कार्यक्रम गर्न लागिएको अपांग समाज सुधार केन्द्रका महासचिव खेन्टु गीरीले जानकारी दिनुभयो ।
विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि विभिन्न र्याली तथा कार्यक्रमा गरी यो दिवस मनाईरहँदा अझै हजारौं अपाङ्गता भएका व्यक्तिहरुले भने यो दिवसको कुनै पनि महसुस गर्न पाउँदैनन् ।
अधिकांश सहर केन्द्रित कार्यक्रमले ग्रामीण क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई भने समेट्न सकेको पाईदैन ।
विगत लामो समयदेखि अपाङ्गता अभियान्ताको रुपमा काम गर्दै आएकी हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय सदस्य निर्वाचित सावित्रा घिमिरेले प्रदेश सरकारले सबैभन्दा पहिले अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सरकार स्थापना भएको ५ बर्ष पुग्दा समेत प्रदेशमा के कति अपाङ्गता भएका व्यक्तिहरु छन् भन्ने विषयमा सरकारसँग कुनै पनि तथ्यांक छैन । तथ्यांक संकलन गरी सोही अनुसारको १० प्रकारका अपांगता भएका व्यक्तिहरुको वर्गीकरण अनुसार विभाजन गरी सोही अनुसारको नीति तथा कार्यक्रम ल्याएमा मात्रै अपांगता भएका व्यक्तिहरु ‘वास्तविक’ हरुको लागि न्याय हुने अपांगता अभियान्ताहरुको भनाई छ ।
केही टाठाबाठा, सहरकेन्द्रित संघ संस्था स्थापना गरी सोही अनुसारको काम गरेर बजेट मास्ने काम भएको भन्दै यसको लागि प्रदेश सरकार र संघीय सरकारले सहज रुपमा सबै वर्ग समुदायको प्रतिनिधित्व हुने गरी बजेट विनियोजन गर्न जरुरी रहेको उनीहरुको भनाई छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले लुम्बिनी प्रदेशमा करिव १ लाख ५० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेको अनुमानित तथ्यांक रहेको बताउनुभयो ।