२०८१ मङ्सिर २३ गते आइतवार

सल्यानमा पहिरोले बगायो ६ घरगोठ (भिडियोसहित)


सल्यान, २१ असोज ।
लगातारको वर्षातका कारण सल्यानमा पहिरोले ६ वटा घर र गोठ बगाएको छ भने थप ६ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

कपुरकोट गाउँपालिका वडा नम्बर ५ सल्लाममा पहिरोले २ घर र चार गोठ बगाएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लगातार चार दिनको वर्षापछि शुक्रबार (आज) बिहान सात बजेतिर पहिरो गएको हो । बिहान पहिरो गएका कारण पनि मानविय क्षति हुन भने नपाएको उहाँले बताउनुभयो ।

घरपरिवारलाई हिजो नै सावधानी अपनाउन जारी गरिसकेकाले पनि मानविय क्षेति रोक्न सकिएको उहाँको भनाई छ । तर अन्य भौतिक क्षति भने धेरै भएको छ ।

पहिरोका कारण कृषियोग्य करिब ५० रोपनी जग्गासमेत बगेको छ भने घरमा भएका अन्नपात र गोठमा भएका पशुपंक्षि (गाइवस्तु, संगुर, कुखुरा) सबै बगेको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।

घटना लगत्तै गाउँपालिका अध्यक्ष दुर्गा पुन सहित प्रहरी र स्थानीयले उच्च जोखिममा रहेका ८ घर परिवारलाई उद्धार गरी सोही वडाकै मिलनबजारमा लगिएको छ । पहिरो पिडित परिवारलाई गाउँपालिकाले आवश्यक राहत उपलब्ध गराउने उपाध्यक्ष भण्डारीले बताउनुभयो । पहिरोले कपुरकोट–कोइलासडक समेत बगाएको छ । सडक नै पहिरोले बगेपछि सवारी आवागमन ठप्प भएको छ ।

भिडियो :

भिडियो स्रोत : पत्रकार सन्तोष घर्ती

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस