२०८१ फाल्गुन ३ गते शनिवार

लगातारको वर्षातले जनजीवन प्रभावित : दाङमा ठाउँ–ठाउँमा घर डुबानमा

दाङ, २० असोज ।
दुई दिनदेखि परेको अविरल वर्षातका कारण जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने वर्षातले धेरै मानविय क्षति पनि भएको छ ।

लगातारको वर्षातका तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत पर्ने गुर्जे लगायत विभिन्न खोलामा आएको बाढीका कारण साना सवारीसाधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बिरबहादुर वलीले जानकारी दिनुभयो ।

खोलामा पानीको बहाव बढेका कारण हिजो दसैंको दिन आवतजावत गर्ने सर्वसाधारणले सास्ती खेप्नुप¥यो । उहाँले विषेशगरी साना सवारी साधानलाई वैकल्पिक ’भाइरल मार्ग’ प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

यस्तै लगातारको वर्षातका कारण बबई नदिमा आएको बाढीका कारण तुलसीपुर–११ बगरपुरमा ९ वटा घर डुबानमा परेका छन् । प्रहरीका अनुसार नदिको बिचमा ९ वटा घरमा ३५ जना फसेका छन् । यस्तै तुलसीपुर–१५ मलवारमा ६ वटा घर डुबानमा परेका छन् ।

घर डुबानमा परेका कारण छ घर परिवार आफन्तीको घरमा बसेका छन् । यस्तै दाङको देउखुरी क्षेत्रमा राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ ।

प्रहरीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । वर्षातका कारण लमही–४ शान्तिनगरमा २ घर पनि डुबानमा परेका छन् । पहिरो र बाढीले घरमा डेढ लाख बराबरको क्षति पुगेको छ ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस