
दाङ,४ भदौ ।
नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालकाअनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।
सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उहाँले बताउनुभयो । २० भदौपछि मात्रै कहाँ-कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
बैंक तथा वित्तीय संस्थामार्फत नै आवशयकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने छ ।
प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उहाँले बताउनुभयो । राष्ट्र बैंक्सँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात छ, भने केही छपाई भएर आउने क्रममा छ ।
गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको यो वर्ष केही कम माग हुन्छ भन्ने अनुमान गरिएको छ ।