
तुलसीपुर, १ भदौ ।
तुलसीपुर क्षेत्रमा मकै बालीमा रोग किराको प्रकोप देखिएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले ३५ सय हेक्टर क्षेत्रफलमध्ये ३० प्रतिशत क्षेत्रफलमा मकै खेतीमा रोग किराको प्रकोप देखिएको बताउनुभयो ।
किसानहरुले मकै खेती गर्नेक्रममा माटोको उपचार र मकै खेतीमा परम्परागत शैलीका कारण रोग किराको प्रकोप देखिएको गौतमले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १,२ र ८ वडामा सबैभन्दा बढी मकै खेतीमा क्षति पुगेको छ ।
तर किसानहरुले नयाँ प्रविधिको प्रयोग गरे गरिएको मकै खेतीमा सुधार देखिएको छ । मकै खेतीमा रोग प्रकोप नियन्त्रणमा रहेको छ । उत्पादन समेत राम्रो देखिएको छ भने परम्परागत शैलीले गरिएको मकै खेतीमा रोग किराले क्षति पुर्याएको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्र करिब ३५ सय हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका मकै खेती गरिएको छ । ती मध्ये परीक्षणकारुपमा यो वर्ष नयाँ प्रविधिको प्रयोग गरेर मकै खेती गरिएको छ ।
साना किसान परियोजना दाङका संयोजक सुधा मिश्रले यो वर्ष परीक्षणका रुपमा खेती गरिएको र परीक्षणकै क्रममा गरिएको खेतीमा उत्पादन बढी र रोग किरा कम देखिएकाले आगामी वर्षदेखि व्यवसायिकरुपमा उत्पादनका लागि अघि बढाइने बताउनुभयो ।
परियोजनाले किसानहरुका लागि प्रविधियुक्त मेसिन उपलब्ध गराउँदै आएको छ । निरीक्षणका क्रममा पुग्नु भएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले नयाँ प्रविधिका प्रयोगका साथै रैथाने प्रजातिको मकैको बिउँ रोप्ने कार्यलाई समेत प्रोत्साहन गरिने बताउनुभयो ।