दाङ, ९ साउन ।
दाङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार बितेको तीन वर्षको अवधिमा दाङमा ८ सय बढी महिला हराएका छन् ।
आर्थिक वर्ष २०७६/२०७७ देखि बितेको आर्थिक वर्षसम्ममा जिल्लामा ८ सय ५४ महिला हराएको देखिएको छ । तीन वर्षमा हराएमध्ये ६ सय ३७ जना सम्पर्कमा आएका छन् भने १३७ जना अझै सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७६/२०७७ मा २०० जना, आर्थिक वर्ष २०७७/२०७८ मा ३०१ जना र बितेको आर्थिक वर्ष २०७८/२०७९ मा ३५३ जना महिला हराएको निवेदन दाङ प्रहरीमा परेको छ । महिला हराएको तथ्यांक डरलाग्दो देखिएपनि अधिकांश महिला दोस्रो बिहे गरेर जाने गरेको देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनुभयो ।
श्रीमान वैदेशिक रोजगारीमा गएको अवस्थामा श्रीमती परपुरुषसंग दोस्रो विवाह गरेर जाँदा महिला हराउनेको संख्या बढ्दै गएको प्रवक्ता रिजालले बताउनुभयो ।
प्रहरीको तथ्यांक अनुसार महिलापछि सबैभन्दा बढी हराउनेमा बालिका बालक र जेष्ठ नागरिक रहेका छन् । कानुनले २० वर्ष मुनिका बिहेलाई अपराध मानेपनि हराएर जानेमा २० वर्षमुनिका किशोरी रहेको र अधिकांश बिहे गरेर गएको देखिने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीको तथ्यांक अनुसार तीन वर्षको अवधिमा ३ सय ५५ बालिका हराएका छन् भने हराएका बालिकामध्ये ३२९ बालिका भेटिएका छन् । जिल्लामा २६ जना बालिका अझैपनि सम्पर्कबिहिन रहेको देखिएको छ ।
यस्तै तीन वर्षको अवधिमा १८२ बालक हराएका छन् भने १६६ बालक भेटिएका छन् । १६ बालक अझै पनि सम्पर्कमा आएका छैनन् । जिल्लामा १६ जना बालक अझै सम्पर्कबिहिन रहेका छन् । प्रहरीका अनुसार तीन वर्षको अवधिमा २३ जना जेष्ठ नागरिक पनि हराएका छन् भने २० जना फेला परेका छन् ।