२०८१ माघ ६ गते आइतवार

करारका कर्मचारी शुद्धिकरणमा तुलसीपुर उपमहानगर


दाङ, ६ साउन ।
तुलसीपुर उपमहानगरपालिकाले कर्मचारी शुद्धिकरण थालेको छ । नगरले दलिय तथा पहुँचका आधारमा बिना प्रतिष्पर्धा नियुक्त भएर तलबमात्रै बुझ्ने कर्मचारीलाई निकाल्ने गरी कर्मचारी शुद्धिकरण अभियान थालेको हो ।

नगरप्रमुख टिकाराम खड्काले करारका कर्मचारीलाई म्याद थप गर्ने विषय परिवर्तन भएपनि कर्मचारीलाई हटाउने नै निणर्य नभएको बताउनुभयो । तर कतिपय कर्मचारी करारमा नियुक्त भएर तलबमात्रै बुझेको देखिएकोले कर्मचारी शुद्धिकरण गर्न नयाँ खालको व्यवस्था गरेको उहाँको भनाई छ ।

तर करारका कर्मचारीले घुमाउरो ढंगले आफुहरुलाई हटाउने आशयको निणर्य गरेको भन्दै गुनासो गरेका छन् । करारका कर्मचारीलाई निरन्तरता दिने निणर्यमा नगरले फेरबदल गरेपछि करारका कर्मचारी चिडिएका हुन् । नगरमा करारमा नियुक्त भएका कतिपय कर्मचारीले राजिनामा दिइसकेका छन् भने कतिपयले राजिनामा दिने तयारी गरेका छन् ।

उपमहानगरपालिकामा यसअघि प्रत्येक वर्षमा करार कर्मचारीको म्याद थप गर्ने गरिएकोमा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले चालु आर्थिक वर्षबाट ४/४ महिनामा म्याद थप गर्ने निणर्य गरेको छ ।

११ औँ नगरसभाको तेस्रो बैठकले अस्थायी, करारका कर्मचारीलाई योग्यता, कार्य सम्पादन र आवश्यकताको आधारमा चौमासिकरुपमा म्याद थप गर्ने निणर्य गरेको छ । नगरको निणर्यसंगै सडक तथा पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर पवन योगीले राजिनामा दिनुभएको छ ।

नगरमा १४ वर्षदेखि करारमा कार्यरत इन्जिनियर योगीले राजिनामा दिएसंगै अन्य अस्थायी तथा करारका कर्मचारी पनि राजिनामा दिने तयारी गरेका छन् । तुलसीपुर उपमहानगरपालिकामा स्थायी, अस्थायी, करार ज्यालादारी गरी चार सय बढी कर्मचारी छन् ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस