
दाङ, २८ असार ।
बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा बसोबास गर्नेहरूले जनावरका कारण वर्षेनी अन्नबालीमा क्षति पुगे पनि सहँदै आएका छन् ।
संविधानले नै सबै नागरिकको खाद्य अधिकार सुरक्षित गरेको भए पनि वन्यजन्तुका कारण गरिबी, बेरोजगारी समस्या बढेको स्थानीयबासीको गुनासो छ ।
५ सय ५० वर्ग किलोमिटर हेक्टर क्षेत्रफलमा फैलिएको निकुन्ज आसपासमा ८ हजार ९ सय ५७ घरपरिवारको बसोबास छ । तर, उनीहरूले लगाएको अन्नबाली भित्र्याउन पाउँदैनन् ।
वन्जन्तुले दिएको दुःख र समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेको डुडुवा, कोहलपुर र खजुरा गाँउपालिकाले भने केही बजेट छुट्याएर वन्यजन्तुका कारण पीडित किसानका लागि योजना बनाउन सुरु गरेका छन् ।
नागरिकको खाद्य अधिकार सुरक्षित गर्नवन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले चाँसोका साथ योजना बनाउने विषयमा मुख्यमन्त्रीसँग कुराकानी भइरहेको बताउनुभयो ।
उहाँले किसानका यी समस्या समाधानका लागि बाली बीमा वा किसानलाई राहत दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आर्थिक रुपमा सक्षम भएका र सरकारले सहयोग गर्नुपर्ने जनसंख्याको अध्ययन गरी पालिकाहरूले खाद्य सुरक्षा एवम् पोषण योजना बनाउन सक्छन् ।
त्यसअनुसार पनि जनप्रतिनिधि जानुपर्ने लुम्बीनी प्रदेशका सांसद आरती पौडेलले बताउनुभयो । जंगली जनावरले नष्ट गर्न थालेपछि केहिले अन्नबाली लगाउन छोडेका छन् र विकल्पमा कागती खेती उनीहरूको रोजाइमा पर्ने गरेको छ ।