दाङ, २६ असार ।
नेपाल प्रेस युनियनको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढ्न थालेको छ । युनियनको आगामी साउन ६ र ७ गते हुने नयाँ नेतृत्वका लागि आउन उमेदवारी घोषणादेखि चुनावी गतिविधि सक्रिय बनेका छन् ।
यसैक्रममा युनियनको केन्द्रिय पदाधिकारीमा दाङबाट पत्रकार नारायणी रजौरे र चेतन रेग्मीले उमेदवारी घोषणा गर्नुभएको छ । रजौरेले पदाधिकारीमा र रेग्मीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नुभएको छ । प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताका लागि आफुहरुले उम्मेदवारी दिन लागेको रजौरेले बताउनुभयो । बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रजौरेले आफुले पदाधिकारीमा दावी गरेको र केही दिनमै पद सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसचिव बालाराम खड्काले गर्नुभएको हो । नेपाली कांग्रेसको शुभेच्छुक पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको आगामी नेतृत्वका लागि नवौँ राष्ट्रिय महाधिवेशन साउन ६ र ७ गते हेटौडामा हुन लागेको छ ।