२०८१ मङ्सिर २२ गते शनिवार

हिलाम्य सडक, कष्टकर यात्रा !

दाङ, २५ असार ।
अस्तव्यस्त सडकले राप्ती राजमार्गको यात्रा कष्टकर बन्ने गरेको छ । दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुरको लाहुरेचौरदेखि कपुरकोटसम्मको अस्तव्यस्त सडकले वर्षायाममा झन् कष्टकर बनेको हो ।

दैनिक सयौँको संख्यामा सवारी चल्ने सडक राप्ती राजमार्ग निर्माणाधिन अवस्थामा छ । लामो समयदेखि निर्माणधिन सडकमा वर्षा लागेसँगै यात्रा झनै बढी कष्टकर बनेको छ ।

सडक हिलाम्य हुँदा ठूला सवारीभन्दा साना सवारीलाई समस्या हुने गरेको छ । सडकको ठाउँ-ठाउँमा हिलो हुँदा साना सवारीलाई ठूला सवारीले हिलो छ्याप्ने समस्याबाट पीडित बनेको तुलसीपुर-५ का विनोद नेपालीले बताउनुभयो ।

‘हिलोले मोटरसाइकल चलाउनेलाई बढी सास्ती दिएको छ’ उहाँले भन्नुभयो- ‘ठूला सवारीले चापेर साइड काट्ने गरेका छन् ।’ विनोद शुक्रबार सल्यान जाँदै हुनुहुन्थ्यो सल्यानको कपुरकोट-५ मा आफन्तको विहेमा मोटरसाकलमा जाँदै गरेका विनोद तुलसीपुर-३ राम्री नजिकै ट्रकसँग साइड काट्ने क्रममा हिलाम्य बन्नुभएको थियो ।

सुटबुटसहित मोटरसाइकलमा सरर कुदेका विनोद अचानक हिलाम्य भएपछि उहाँ आक्रोशित बन्नुभएको थियो । ‘कुन हिसाबले यात्रा सुरूवात गरिएको हुन्छ’ उहाँले भन्नुभयो- ‘दिमाग खराब, यो सडक जहिले पनि उस्तै हुन्छ, खै कहिले निर्माण पूरा हुने हो ?’

निर्माण कम्पनीको चरम लापरबाहीका कारण राप्ती राजमार्गको यात्रा कष्टकर बनेको यात्रुले गुनासो गरेका छन् । दाङ, सल्यानसहित रूकुम र रोल्पाका लागि सवारी साधन सञ्चालन हुने राप्ती राजमार्गलाई कालोपत्रे बनाउने नाममा सडक भताभुङ्ग अवस्थामा पारिएको बसका चालक वीरबहादुर बुढाथोकीले गुनासो गर्नुभयो ।

२०७० सालमा कालोपत्रे गरिएको सडक केही समय नबित्दै कालोपत्रे सडक कच्ची सडकमा परिणत भएको थियो । २०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्याम/शंकर जेभीलाई करिब १० करोड रूपैयाँमा सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । एक वर्षमा सक्ने गरी भएको सम्झौता पटक-पटक थपे पनि अहिलेसम्म करिब ५० प्रतिशत मात्रै काम सकिएको छ ।

राप्ती राजमार्गमा टालटुल पारेर बजेट खर्च गर्ने प्रवृत्ति बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा राप्ती राजमार्गको लागि तीन अर्ब १२ करोड बजेटसमेत विनियोजन गरेको छ । तर बजेटको खर्च गर्ने प्रवृत्ति सुधार हुन नसक्दा सडकको अवस्था सुधार हुन सकेको छैन् ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस