दाङ, ४ मंसिर ।
देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गढवा गाउँपालिका–६, रामपुरका १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई उपचारका लागि सञ्जीवनी टिचिङ अस्पताल घोराही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा–६ का १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ सामान्य घाइते भएका छन् ।
यसैबिच दाङको लमहीमा भ्रमणबाट आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहिबार बिहान साढे ८ बजेतिर लमही नगरपालिका–९ शिवखोला नजिक पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको हो ।
बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख ३३१० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । बस लुम्बिनी भ्रमण गरेर कोहलपुर फर्किरहेको थियो ।
बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेकोमा २२ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।



