तुलसीपुर, दाङ। नेपाल स्काउटअन्तर्गत दिव्य कुञ्ज एकेडेमीमा सञ्चालित दिव्य कुञ्ज स्काउट ट्रुपको पहिलो फ्रेन्डसिप स्काउट क्याम्पको दोस्रो दिन शनिबार साँझ भव्य क्याम्प फायर कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मनिर्भरता, सिर्जनशीलता तथा सामाजिक सेवाको भावना विकास गर्ने उद्देश्यले दिव्य कुञ्ज स्काउट ट्रुपको आयोजनामा २०८३ कात्तिक १३ गतेदेखि विद्यालय परिसरमा दुई रात तीन दिनको आवासीय क्याम्प सञ्चालन भइरहेको छ। क्याम्पअन्तर्गत दोस्रो दिन आयोजित क्याम्प फायर कार्यक्रममा सहभागी स्काउट सदस्यहरूले विभिन्न सिर्जनात्मक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
क्याम्प फायर स्काउट गतिविधिको महत्वपूर्ण अभ्यासका रूपमा रहेको छ। यसले स्काउट सदस्यहरूबीच आपसी मित्रता, भाइचारा, सामूहिक एकता, सहकार्य र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूमा नेतृत्व तथा सामूहिक जीवनशैलीको विकासमा सहयोग पुर्याउँछ।
डिलाइट भेन्चर्स ग्रुपका कार्यकारी प्रमुख विरबहादुर भण्डारी ‘मोहन’को प्रमुख आतिथ्यता तथा दिव्य कुञ्ज एकेडेमीका प्राचार्य कुलानन्द अधिकारीको अध्यक्षतामा क्याम्पको उद्घाटन समारोह सम्पन्न भएको थियो। उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुली तथा सशस्त्र प्रहरी बल नेपाल, बेस क्याम्प तुलसीपुरका प्रहरी नायब उपरीक्षक वीरबहादुर नाथको विशिष्ट आतिथ्यता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि स्काउटजस्ता रचनात्मक तथा व्यवहारिक सिकाइका कार्यक्रम आवश्यक रहेको बताउनुभएको थियो। उहाँले किताबी ज्ञानले मात्र विद्यार्थीको व्यक्तित्व पूर्ण नहुने उल्लेख गर्दै अनुशासन, नेतृत्व, सहकार्य र सामाजिक उत्तरदायित्व सिकाउने यस्ता कार्यक्रमले विद्यार्थीलाई असल नागरिक बन्न प्रेरित गर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई यस्ता कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो।
विशिष्ट अतिथि प्रहरी नायब उपरीक्षक पराजुलीले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र सचेत नागरिक बन्न प्रेरित गर्दै स्काउटले जीवनोपयोगी सीप तथा सामाजिक सेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।
कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्याल, नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष नारायण खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयका सहप्राचार्य धीरज केसीले स्वागत मन्तव्यका क्रममा क्याम्पको उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। स्काउट मास्टर एवं क्याम्प चिफ अञ्जली साहले स्काउटका नियम, नीति, सिद्धान्त तथा आचारसंहिताका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
क्याम्प अवधिभर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, प्राथमिक उपचार, समूहगत कार्य, नेतृत्व विकास, आत्मनिर्भरता, अनुशासन तथा सामाजिक सेवासम्बन्धी विभिन्न प्रशिक्षणात्मक र सिर्जनात्मक गतिविधिमा सहभागी गराइएको छ। यस्ता गतिविधिले विद्यार्थीहरूमा आपसी मित्रता, सहकार्य, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिलाइट भेन्चर्स ग्रुपको संस्थागत सहयोग तथा दिव्य कुञ्ज एकेडेमीको व्यवस्थापनमा सञ्चालित यस क्याम्पले विद्यालयस्तरमा स्काउट अभियानलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीहरूमा सेवाभाव, अनुशासन, सामाजिक उत्तरदायित्व र नेतृत्व संस्कृतिको विकास गर्ने लक्ष्य लिएको छ।
उद्घाटन समारोहको सञ्चालन शिक्षिका सरला श्रेष्ठले गर्नुभएको थियो।

‘‘साथी बनौँ, सिकौँ, बढौँ र नेतृत्व गरौँ’*’ भन्ने मूल सन्देशका साथ सञ्चालित पहिलो फ्रेन्डसिप स्काउट क्याम्पको दोस्रो दिनको क्याम्प फायर कार्यक्रमले सहभागी स्काउट सदस्यहरूमा आपसी मित्रता, सद्भाव, सिर्जनशीलता र सामूहिक एकताको भावना थप सुदृढ बनाएको छ। दुई रात तीन दिनको उक्त क्याम्पको समापन तेस्रो दिन आज हुँदैछ।


