२०८३ कार्तिक ८ गते आइतवार

मानवसेवा आश्रममा सामूहिक टीका तथा शुभकामना आदानप्रदान

दाङ, ७ कार्तिक । मानवसेवा आश्रम तुलसीपुरमा आश्रित व्यक्तिहरूसँग दशैँको खुसी साटासाट गर्दै सामूहिक टीका तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

परिवारबाट टाढा रहेका तथा सहारा र अभिभावकत्वको खोजीमा रहेका आश्रमका आमा, बुवा र नानीबाबुहरूलाई दशैँको खुसी बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई टीका लगाउनुका साथै प्रेम, सद्भाव, आत्मीयता र आशीर्वाद साटासाट गरिएको थियो । परिवारबाट टाढा रहेका व्यक्तिहरूलाई चाडपर्वको समयमा एक्लोपन महसुस हुन नदिन तथा उनीहरूलाई अपनत्वको अनुभूति गराउन कार्यक्रम आयोजना गरिएको मानवसेवा आश्रम तुलसीपुरका संयोजक तथा सूचना अधिकारी हृदयस जोशी (हिरु) ले जानकारी दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुजमान भण्डारी, वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुली, आश्रमका संरक्षक डिल्लीबहादुर बस्नेत र बलदेव शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यस्तै, लायन्स क्लब अफ तुलसीपुर इशानका संस्थापक अध्यक्ष तथा आश्रमका संरक्षक बुद्धप्रकाश सिंह, महिला मानव अधिकार रक्षक सञ्जालकी शुष्मा लामिछाने गिरी, तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, चलचित्र पत्रकार संघ दाङकी अध्यक्ष निरला अर्याल, तुलसीपुर नगर जेसीजका कार्यक्रम उपाध्यक्ष सागर न्यौपाने, लायन्स क्लब अफ तुलसीपुर इशानका सोमराज बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष दिपेश भण्डारी र रेडियो नेपालका टेकराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।

हाल मानवसेवा आश्रम तुलसीपुरमा ७६ जना सहयोगापेक्षी व्यक्तिहरूले आश्रय लिइरहेका छन् ।

प्रकाशित मिति : २०८३ कार्तिक ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस