सल्यान, २८ असोज । बैंक, वित्तीय तथा सहकारी संस्थामा कार्यरत कर्मचारीबीच आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कपुरकोटमा बैंक, वित्तीय तथा सहकारी कर्मचारी मिलन केन्द्र कपुरकोटले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमले विभिन्न बैंक, वित्तीय तथा सहकारी संस्थामा कार्यरत कर्मचारीलाई एउटै थलोमा भेला भई आपसमा परिचित हुने, अनुभव साटासाट गर्ने र व्यावसायिक सम्बन्ध थप सुमधुर बनाउने अवसर प्रदान गरेको छ। यस्ता कार्यक्रमले कार्यस्थलमा मात्र सीमित रहने सम्बन्धलाई सामाजिक तथा आत्मीय सम्बन्धमा रूपान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विभिन्न संस्थामा कार्यरत कर्मचारीबीच आपसी समन्वय र सहकार्य बढाउन, कामका क्रममा देखिने समस्या तथा चुनौतीबारे अनुभव आदानप्रदान गर्न र एकअर्काबाट सिक्ने वातावरण निर्माण गर्न पनि यस्ता कार्यक्रम उपयोगी मानिन्छन्। चाडपर्वको अवसरमा आयोजना गरिने सामूहिक भेटघाटले कर्मचारीमा आत्मीयता बढाउनुका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउन सहयोग पुर्याउँछ।
मिलन केन्द्रका संयोजक मदन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष जितप्रसाद आचार्यले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँले चाडपर्वले सबैमा खुसी, उमङ्ग र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो।


