२०८३ असोज १२ गते सोमवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि गिरीको उम्मेदवारी


तुलसीपुर, ११ असोज ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा  दाङ क्षेत्र नम्बर ३ बाट कृष्णकुमार गिरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । 

गिरीले आफ्नो उम्मेदवारीमार्फत पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले  “लोकतान्त्रिक मूल्य, समृद्ध नेपाल” भन्ने नारासहित संगठनलाई बलियो बनाउने विषयलाई प्राथमिकता दिनुभएको छ ।

गिरीले पार्टीका क्रियाशील सदस्य तथा प्रतिनिधिहरूसँग सहयोग र समर्थनको अपेक्षा सहित मत माग्नुभएको छ ।


पञ्चायत व्यवस्थाविरुद्धको राजनीतिक संघर्षमा सक्रिय रहेका दाङ तुलसीपुर का पुराना प्रजातन्त्रवादी नेता कृष्णकुमार गिरीले कांग्रेसको आन्तरिक संगठन र १४ औं महाधिवेशनमा महाधिवेसन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो भने विभिन्न सांगठनिक गतिविधिहरूमा प्रतिनिधित्व जनाउदै आउनुभएको छ ।

भारतको बनारसमासमेत अध्ययन गर्नुभएका गिरीलाई पञ्चायतकालमा विभिन्न संघ संस्था खोलेका आरोपमा २०२९ कार्तिक २२ देखि २०३१ सम्म २ बर्ष सल्यान कारागारमा बन्दी बनाइएको थियो । २०३६ सालको जनमत संग्रहदेखि ०६२–०६३ का आन्दोलनमासमेत गिरीले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँ २०२८ साल भदौमा प्रवास भारतको बनारसमा भएको तरुणदलको निर्वाचनमा नेपाल तरुणदलको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि गिरीले अहिलेसम्म कुनै पनि राजनीतिक पद भने पाउनु भएको छैन ।

  गिरी २०५० सालदेखि नेपालमा अन्धोपन न्यूनिकरणको अभियानमा निरन्तर लागि रहनुभएको छ ।  यही योगदानवापत गिरी नेत्रज्योति पुरस्कार तथा राष्ट्रिपतिबाट सु–प्रवल जनसेवा पदकबाट सम्मानित हुनुभएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस