दाङ, ७ असार । तुलसीपुर उपमहानगरपालिका–११ अन्तर्गत उरहरी–डबरा–बेल्टाकुरा–मोतिपुर–सुकौरा सडक कालोपत्रे गर्न ४ करोड ३५ लाख बजेट सुनिश्चित भएको छ ।
लुम्बिनी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत बहुवर्षीय योजनाका रूपमा उक्त सडक स्तरोन्नति तथा कालोपत्रे गर्न बजेट सुनिश्चित भएको हो । सडक दुई वर्षभित्र स्तरोन्नती गरिने छ ।
योजनाअनुसार कुल लागतको ४० प्रतिशत बजेट लुम्बिनी प्रदेश सरकारले र ६० प्रतिशत बजेट तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्ने छ ।
वडा अध्यक्ष मानबहादुर रावतले सडक कालोपत्रे भएपछि स्थानीयवासीको आवतजावत सहज हुनुका साथै कृषि उत्पादनको ढुवानी, व्यापारिक गतिविधि तथा ग्रामीण क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले बजेट सुनिश्चितताका लागि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, लुम्बिनी प्रदेश सरकार तथा भौतिक पूर्वाधार विकास मन्त्रालयप्रति आभार व्यक्त गर्नुभएको छ ।
यसअघि पनि तुलसीपुर–११ का विभिन्न विकास आयोजनाका लागि उल्लेख्य बजेट व्यवस्थापन गरिएको छ । ऐतिहासिक दंगीशरण थारु राजाको दरबार संरक्षण तथा विकास र क्वाङखोलामा पुल निर्माणका लागि १३ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित भइसकेको छ ।




