कोहलपुर, ६ असार । बाँकेको कोहलपुर नगरपालिका–११ मा ‘अभिदा कलेक्सन’ होलसेल पसलको दोस्रो शाखा भव्य रूपमा उद्घाटन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ निवासी ६ वर्षीया चर्चित बाल टिकटक स्टार एरिका ओलीले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाकी उपमेयर सङ्गीता सुवेदीले स्थानीय स्तरमा व्यवसाय विस्तार हुनुले आर्थिक गतिविधि चलायमान बनाउनुका साथै रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुग्ने बताउनुभयो ।
नयाँ शाखाको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले स्थानीय सरकार उद्यमशीलतालाई प्रोत्साहन गर्न सधैं तयार रहेको धारणा राख्नुभयो ।
त्यस्तै, उद्घाटनकर्ता तथा बाल प्रतिभा एरिका ओलीले अभिदा कलेक्सनले ग्राहकको मन जित्दै सफल व्यावसायिक यात्रा तय गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थानीय बजारमा गुणस्तरीय तथा विविध सामग्रीहरू होलसेल मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ दोस्रो शाखा सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएको छ । उद्घाटनकै दिनदेखि आफ्नो व्यावसायिक सेवा औपचारिक रूपमा सुरु गरेको यस कलेक्सनले ग्राहकको विश्वास र सन्तुष्टिलाई नै आफूहरूको मुख्य प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेको छ ।



