२०८३ असार ११ गते बिहिवार

बेमौसमी मकैले हराभरा बने करंगाका बारी



दाङ, २७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ करंगा यतिबेला बेमौसमी मकै खेतीले हराभरा बनेको छ । गाउँका बारीहरूमा लहलहाउँदै बढेका हरिया मकैले किसानहरूको मुहारमा खुशी थपेको छ ।

करिब ३ बिघा क्षेत्रफलमा गरिएको बेमौसमी मकै खेती यसपटक सफल बन्दै गएपछि किसानहरू उत्साहित देखिएका छन् ।

स्थानीय किसानहरूका अनुसार अहिले मकै राम्रोसँग सप्रिएको छ भने जेठको पहिलो तथा दोस्रो हप्ताबाट खान योग्य हुने अपेक्षा गरिएको छ । समयभन्दा अगाडि उत्पादन लिन सकिने भएकाले किसानहरूमा बेमौसमी मकै खेतीमा थप उत्साह देखिएको हो ।

करंगा क्षेत्रमा डिप बोरिङको सुविधा विस्तार भएपछि सिँचाइको समस्या हट्दै गएको किसानहरूको भनाइ छ । पानीको सहज उपलब्धताले बेमौसमी खेती गर्न ठूलो सहयोग पुगेको उनीहरूले बताएका छन् ।

किसानहरू अहिले उत्पादित हरियो मकै प्रत्येक शनिबार करंगा चोकमा लाग्ने हाटबजारमा बिक्री गर्ने तयारीमा रहेका छन् । हाटबजारमा स्थानीय उत्पादनको माग राम्रो हुने भएकाले यसपटक मकैले राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ ।

बेमौसमी खेती सफल बनेसँगै अन्य किसानहरू पनि आधुनिक सिँचाइ र व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित हुन थालेका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस