२०८३ भाद्र ४ गते बिहिवार

चन्द्रवीरलाई नेशनल प्याब्सन दाङद्वारा सम्मान

दाङ, २७ पुस । आफ्नो अथक मेहनतले तीन किलोमिटर सडक खनेर चर्चामा आएका तुलसीपुर–३ खमारी निवासी चन्द्रवीर वलीको परिवारलाई नेशनल प्याब्सन दाङ शाखाले सहयोग र सम्मान गरेको छ ।

नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा आइतबार वलीको परिवारलाई आयआर्जनमा टेवा पुऱ्याउने उद्देश्यले एउटा बाख्रा र एउटा बोका उपहारस्वरूप प्रदान गरिएको हो ।

दृष्टिविहीन सन्तानको सहजताका लागि घरेलु औजारकै भरमा पहाड खनेर सडक निर्माण गरेका वलीलाई दैनिक जीविकोपार्जनमा सजिलो होस् भनेर यो सहयोग गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले चन्द्रवीर वलीको जीवन संघर्ष सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो ।

उहाँले वलीका नाति–नातिनीहरूलाई विद्यालय तहको शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘वली परिवारलाई आगामी दिनमा पनि थप सहयोगका लागि हामी तत्पर छौँ ।’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नेशनल प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य भीमबहादुर बुढाथोकीले आफ्ना सन्तानका लागि तीन वर्ष लगाएर एक्लै सडक निर्माण गर्ने वली समाजकै प्रेरक व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमको सहजीकरण नेशनल प्याब्सन दाङका सचिव हरिप्रसाद भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस