२०८३ भाद्र ४ गते बिहिवार

तुलसीपुर महोत्सवमा वक्तृत्वकला प्रतियोगिता हुने : २५ वर्ष मुनिकाले भाग लिन पाउने

दाङ, ३ पुस । दाङको तुलसीपुरमा संचालन हुन थालेको ‘प्रथम तुलसीपुर महोत्सव’ मा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पुस ४ गतेदेखि १९ गतेसम्म संचलन हुन थालेको महोत्सवमा ‘समृद्ध तुलसीपुर–मेरो दायित्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले युवा तथा बालबालिकामा बोल्ने कलाको क्षमता विकास गर्न र तुलसीपुरको समृद्धिका लागि दायित्वबोध गराउन वक्तृत्वकला आयोजना गरिन लागेको बताउनुभयो ।

अध्यक्ष केसीले प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्वितीय हुनेले ७ हजार ५०० र तृतीय हुनेले नगद ५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने बताउनुभयो ।

वक्तृत्वकलामा भाग लिनका लागि आवेदन आव्हान समेत भइसकेको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र बहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार वक्तृत्वकलामा भाग लिनका लागि २५ वर्ष मुनिको हुनुपर्नेछ भने सहभागीले पुस ८ गतेसम्म आवेदन फाराम भरीसक्नुपर्नेछ । सहभागी हुन चाहनेले भौतिकरुपमा सचिवालय वा अनलाइनमार्फत फाराम भर्न सक्नेछन् । सहभागीले उमेर प्रमाणित हुने नागरिकता तथा जन्मदर्ता अनिवार्य पेश गर्नुपर्नेछ ।

‘स्थानीय उत्पादनलाई प्रर्वद्धन गरौँ, औद्योगिक वातावरणको सुधार–अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ पुस ४ गतेदेखि १९ गतेसम्म तुलसीपुर–६ घोराहीरोडस्थित उत्तरतर्फ महोत्सव संचालन हुन लागेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस