२०८३ असार ७ गते आइतवार

कपुरकोट गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाई


सल्यान, ३० साउन । सल्यानको कपुरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य सेवा, कृषि, वन तथा वातावरण, पूर्वाधार विकास, सामाजिक सुरक्षा लगायतका विषयमा आफ्ना धारणा, गुनासो र सुझाव राखेका छन् ।

नागरिकले नीति कार्यान्वयनमा देखिएका समस्या, सेवा प्रवाहको गुणस्तर, बजेटको प्रयोग र प्राथमिकताबारे प्रत्यक्ष प्रश्न गर्ने अवसर पाएका थिए भने जनप्रतिनिधि र कर्मचारीहरूले त्यसका जवाफ दिएका थिए ।

गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, छ वटै वडाका वडा अध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, वन तथा वातावरण, शिक्षा, स्वास्थ्य, कृषि र पशु उपचार सेवासहितका सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए ।

स्थानीय सरकारको उत्तरदायित्व र पारदर्शिता कायम गर्न सार्वजनिक सुनुवाइलाई महत्वपूर्ण प्रक्रिया मानिन्छ । यसमार्फत जनप्रतिनिधि र कर्मचारीले विगतको कामको प्रतिवेदन सार्वजनिक गर्दै नागरिकको सुझाव र प्रश्न लिन्छन् । जसले योजनाको कार्यान्वयनमा सुधार ल्याउन, सेवा प्रवाहलाई जनमैत्री बनाउन र बजेट खर्चमा जनताको निगरानी सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ ।

कपुरकोट गाउँपालिकाले सुनुवाइमार्फत प्राप्त सुझाव र गुनासो आगामी वर्षका योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको सहजीकरण नागरिक सूचना केन्द्र कपुरकोटले गरेको हो ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस