२०८३ भाद्र १३ गते शनिवार

किशन रेग्मीको निर्देशनमा तीज गीत ‘शिर फूल हरायो’ को छायांकन

टेक्सस, अमेरिका — अमेरिकाको टेक्सस राज्यमा तीज पर्वको अवसर पारेर नयाँ तीज गीत ‘शिर फूल हरायो रे, फन्की नाच्ने तालमा; खोजौँ खोजौँ सङ्गी हो, काकरीको झालमा’ को म्युजिक भिडियोको छायांकन भव्य रूपमा सम्पन्न भएको छ।

उक्त गीतमा चर्चित गीतकार लोकराज अधिकारीको शब्द, वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत, तथा गायिकाहरू समीक्षा अधिकारी र सुधा रत्नको सुमधुर स्वर रहेको छ।

गीतको सङ्गीत संयोजन सञ्जय श्रीपालले गरेका हुन् भने छायांकन गोहन आलेले, निर्देशन किशन रेग्मीले र कोरियोग्राफी प्रियङ्का ऐरले गरेकी हुन्।

भिडियो आगामी शुक्रवार सार्वजनिक गरिने तयारीमा रहेको छ।

गीत निर्देशन गरेका किशन रेग्मीले भने, “यो गीत नेपाली तीज संस्कृतिको मौलिकता, महिला भावना र चञ्चलतालाई समेट्ने प्रयास हो। प्रवासमा रहेर पनि हाम्रो चाडपर्व र संस्कृतिलाई जोगाउने काम साङ्गीतिक प्रस्तुतिबाट गर्न सकिन्छ भन्ने विश्वासका साथ यो म्युजिक भिडियो तयार गरिएको हो।” उनले थपे,“टेक्ससको वातावरण, नेपाली समुदायको उत्साह र समर्पित टिमको साथले यो भिडियोलाई उत्कृष्ट बनाउन सकियो। दर्शकको माया र साथको अपेक्षा राखेको छु।”

यो गीतले प्रवासमा रहेका नेपालीहरूमा तीजको रमाइलो माहोल सिर्जना गर्ने र संस्कृतिप्रतिको भावनालाई अझै बलियो बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस