२०८३ असार १० गते बुधवार

राप्ती प्रादेशिक अस्पताल : एक वर्षमा ९२ हजार बढीले लिए उपचार सेवा

दाङ, १ असोज । राप्ती प्रादेशिक अस्पतालमा एक वर्षको अवधिमा ९२ हजार बढीले बरिरंग अर्थात ओपिडीमा स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा बितेको आर्थिक वर्ष २०८०/२०८१ मा ९२ हजार बढीले बहिरंग स्वास्थ्य सेवा लिएको देखिएको हो ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले आर्थिक वर्ष २०७८/७९ मा ७७ हजार ९ सय १७ जनाले बहिरंग स्वास्थ्य उपचार सेवा लिएकोमा आर्थिक वर्ष २०७९/२०८० मा ४३ हजार ४२७ जनाले सेवा लिएको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा भर्ना भएका बिरामी निको हुने दर भने घट्दै गएको छ । तीन वर्षको तथ्यांकलाई हेर्दा अघिल्लो दुई वर्षको तुलनामा बितेको वर्षमा निको हुने दर घटेको छ । आर्थिक वर्ष २०७८/२०७९ मा अस्पताल भर्ना भएका कुल बिरामी मध्ये ९५ दशमलव ८१ प्रतिशत बिरामी निको भएको देखिएको छ । तर पछिल्ला वर्षमा यो दर घट्दै गएको देखिएको छ ।

आर्थिक वर्ष २०७९/२०८० मा कुल भर्ना भएका बिरामीमध्ये ८७ दशमलव १७ बिरामी निको भएको देखिएको छ भने बितेको आर्थिक वर्ष २०८०/२०८१ मा ८१ दशमलव ४८ प्रतिशत बिरामी निको भएको जनस्वास्थ्य निरीक्षक चौधरीले बताउनुभयो ।

अस्पतालमा अहिले १४१ बेड संचालनमा रहेको पनि उहाँले बताउनुभयो । अस्पतालले २ सय बेड संचालनको अनुमति प्राप्त गरेपनि अहिले जनशक्ति अभाव र भौतिक संरचनाको कमीले १४१ बेडसम्म संचालन गरेको उहाँको भनाई छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.पदमराज अधिकारीले ५० बेडकै जनशक्तिले सेवा प्रवाह गरिरहेको बताउनुभयो । अस्पतालले अनुमति पाएको २ सय बेड नै संचालन गर्न जनशक्ति र भौतिक संरचना पर्याप्त हुन नसकेको मेसु अधिकारीले बताउनुभयो ।

उहाँले अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालमा नाम परिवर्तन भएपनि प्रादेशिक अस्पतालले पाउने जनशक्ति र भौतिक सामग्रिको पाउन नसक्दा सेवा प्रवाहमा उल्लेख्यरुपमा सुधार गर्न नसकिएको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको सेवा प्रवाह सुधारका लागि थप जनशक्ति र आवश्यक सामग्रिको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । उहाँले सिमित जनशक्ति र सामग्रिले पनि अस्पतालको सेवा प्रवाहलाई सुधार गर्ने कोशिस गरिरहेको बताउनुभयो ।

अस्पतालले बितेको आर्थिक वर्षमा स्वास्थ्य सेवा प्रवाह मूल्यांकनमा ८५ अंक ल्याएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा १ अंकले मात्रै बढी हो । राप्ती प्रादेशिक अस्पतालले स्वास्थ्य उपचार सेवा मूल्यांकनमा आर्थिक वर्ष २०७९/८० मा ८४ अंक प्राप्त गरेको थियो । अस्पतालको उपचार सेवालाई उत्कृष्ट बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस