दाङ , २८ चैत । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै दाङका अटो व्यवसायीहरू प्रभावित भएका छन्। लामो समयदेखि भाडादर वृद्धि नगरी सेवा दिँदै आएका अटो व्यवसायीहरूले हालको अवस्थामा पुरानै भाडादरमा अटो सञ्चालन गर्दा घाटा व्यहोर्नु परेको बताएका छन्।
अटो भाडादर स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भए पनि उचित व्यवस्थापन हुन नसकेपछि तुल्सीपुर क्षेत्रमा क्रियाशील यातायात प्रालिहरूको संयुक्त बैठकले भाडादर समायोजन गर्ने निर्णय गरेको हो। बैठकको निर्णयअनुसार यसअघि बजार क्षेत्रमा ३५ रुपैयाँ कायम रहेको भाडादर बढाएर अब ५० रुपैयाँ कायम गरिएको छ। त्यस्तै बजार क्षेत्रभन्दा बाहिरको भाडादर प्रतिकिलोमिटर १२ रुपैयाँबाट बढाएर १५ रुपैयाँ निर्धारण गरिएको छ।
तुल्सीपुर बजार क्षेत्र विस्तार भएसँगै भाडादर निर्धारणका लागि नयाँ सीमाना पनि तय गरिएको छ। अब मुख्य आधार बिन्दुका रूपमा वीरेन्द्र चोकलाई मान्दै पूर्वमा मोतिपुर, पश्चिममा कृष्णमन्दिर, उत्तरमा शिवनगर र दक्षिणमा लक्ष्मीनारायण मन्दिरसम्मको क्षेत्रलाई बजार क्षेत्र मानिएको छ। यसअघि भने पूर्वमा हातिखौवा, पश्चिममा दोघरे, उत्तरमा गोदामघर र दक्षिणमा लक्ष्मीनारायण–गुमराहचोकसम्मलाई बजार क्षेत्र मानिने गरिएको थियो।
भाडादर वृद्धि गरिएसँगै प्रालिले दूरीको दायरा पनि विस्तार गरेको जनाएको छ। यदि एक जना यात्रु मात्र अटोमा सवार भएमा भने रिजर्भ वा आपसी सहमतिमा भाडा निर्धारण गरिने व्यवस्था गरिएको प्रालिले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई प्रालिमा आबद्ध अटोमा यात्रा गर्दा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको प्रालिका निर्वर्तमान अध्यक्ष वेदप्रकाश वलीले जानकारी दिनुभयो। त्यसैगरी स्थानीय तहबाट सिफारिस भई आएका अति विपन्न सडक मानव, आश्रित, हराएका बालबालिका, बेसहारा वृद्धवृद्धा तथा विपद् पीडितहरूलाई दाङ भ्याली यातायात प्रालिमा आबद्ध अटोमार्फत निःशुल्क सेवा उपलब्ध गराइने प्रालिका अध्यक्ष महेन्द्र महराले बताउनुभयो।
अटो व्यवसायीहरूले समाजमा आफूहरूलाई सम्मानजनक व्यवहार नपाएको गुनासो समेत गरेका छन्। राज्यले समेत उपेक्षाको दृष्टिले हेर्दा यस क्षेत्रमा भविष्य देख्न नसक्ने अवस्था सिर्जना भएको प्रालिका महासचिव खुमबहादुर वलीले उल्लेख गर्नुभयो।
प्रालिका अध्यक्ष महेन्द्र महराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण दाङ भ्याली यातायात घोराहीका संयोजक दलजित दमाईले गर्नुभएको थियो। कार्यक्रममा लमही, घोराही, हापुरे, बिजौरी लगायतका क्षेत्रबाट अटो व्यवसायीहरूको सहभागिता रहेको थियो। सोही अवसरमा प्रालिले भित्तेपात्रो (क्यालेन्डर) समेत विमोचन गरेको छ।




