२०८३ असार ७ गते आइतवार

राप्ती आँखा अस्पतालमा जलविन्दु रोगसम्बन्धी सचेतना कार्यक्रम

दाङ, २२ चैत । जलविन्दु रोगको बारेमा जागरूकता बढाउन दाङको तुलसीपुर–४ रक्षाचौरस्थित राप्ती आँखा अस्पतालमा जलविन्दु रोगसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौरमा जलविन्दु रोगसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

जलविन्दु रोगको बारेमा जागरूकता बढाउन, आँखाको नियमित चेकजाँच र औषधीको उचित प्रयोगको लागि कार्यक्रमको गरिएको राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा जलविन्दु रोग विशेषज्ञ सहायक प्राडा रन्जितकुमार शाहले जानकारी दिनुभयो ।

जलविन्दुको उपचारसँगै सचेतना दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दाङ जिल्लासहित छिमेकी जिल्लाका सेवाग्राहीको उपस्थिति रहेको थियो ।

नेपालमा हुने अन्धोपनाको दोस्रो कारणमा जलविन्दु रोग भएकाले यसको सचेतना आवश्यक रहेको डा. साहको भनाई छ । ’रोग लाग्नुभन्दा लाग्न नदिनुनै उत्तम उपाय हो रोग लागि हाले पनि कसरी यसलाई न्यूनीकरण गर्ने र हेरचाह गर्ने भन्ने सचेतना आवश्यक पर्ने भएकाले यस्ता सचेतना कार्यक्रम आयोजना हामीले गरेका हौं’, डा. शाहले भन्नुभयो ।

उपचारसँगै यसबाट कसरी बच्ने भन्ने विषयमा विरामी र बिरामीका अभिभावकलाई सचेतना दिने गरेको उहाँले बताए । प्राडा शाहले जलविन्दु रोग, लक्षण, रोगको उपचार पद्धति, यसबाट समयमै बच्ने उपायको विषयमा प्रशिक्षण दिएका थिए औषधीको उचित प्रयोग फलोअपको महत्व र जीवनशैली र आहारविहार सल्लाह र यसमा परिवारको सहयोगको भूमिकाका विषयमा प्रशिक्षण साथै जानकारी दिनुभएको हो ।

सचेतना कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सहकोषाध्यक्ष प्रणवकुमार खड्का सदस्य ताराप्रसाद पोखेल, नेत्रविशेषज्ञ डा. क्षमता सुवेदी, बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत सालिकराम गौतम, व्यवस्थापक शसि लामिछाने, जलविन्दुको उपचार गराइरहेका विरामी र उनीहरूका आफन्त तथा अस्पतालका कर्मचारीको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा सहभागी वेदप्रसाद शर्माले यस्ता सचेतना कार्यक्रमले सबै नागरिक सचेत हुनुका साथै समयमै रोग पहिचान भई दृष्टिविहिनता हुनबाट बच्न सकिने भन्दै अस्पताललाई धन्यवाद दिनुभयो ।

त्यस्तै सेवाग्राही पदमबहादुर वलीले आफु रोल्पाबाट यस कार्यक्रममा सहभागी हुन आएको भन्दै धेरै कुरा थाहा भएको धारणा व्यक्त गर्नुभयो ।

राप्ती आँखा अस्पतालमा जलविन्दु रोगसम्बन्धी उपचार सेवा सुरु भएसँगै नागरिकलाई सहज भएको छ । अस्पतालमा दैनिक १५ जनाभन्दा बढीले विशेषज्ञ सेवा लिने गरेका छन् ।

वार्षिक योजनाअनुसार जलविन्दुको शल्यक्रिया विभिन्न उपचारसँगै सचेतना कार्यक्रम गर्दै आएको वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस