सल्यान, १५ पुस । सल्यानको कपुरकोटमा पालिकास्तरीय ’सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । कपुरकोट वडा नम्बर ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।
नेपाल सरकारका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा प्रतियोगिताको समुद्घाटन भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्वालाले खेलकुदले विद्यार्थीहरूको अनुशासन र शारीरिक विकासमा मद्दत पुर्याउने बताउँदै गाउँपालिका स्तरबाटै दक्ष खेलाडी उत्पादन हुनुपर्नेमा जोड दिनुभयो ।
कपुरकोट गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष शेरबहादुर पुनको अध्यक्षतामा कार्यक्रम शुरु भएको हो । कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, सल्यान त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, रोल्पा त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठा र जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शेर बहादुर रोका लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र खेल प्रेमीहरूको बाक्लो उपस्थिति रहेको छ । कालिका माध्यमिक विद्यालय कपुरकोटका प्रधानाध्यापक बामदेव अधिकारीका अनुसार आगामी पुस १७ गतेसम्म चल्ने यस प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत एथलेटिक्स समूहका सबै विधाका खेलहरू सञ्चालन गरिनेछ । यसअघि नेरामावि किमुचौरका प्रधानाध्यापक रमेश बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कपुरकोट शिक्षा शाखाका अधिकृत निर्मल देवकोटाले गर्नुभएको हो ।


