२०८३ साउन ८ गते शुक्रवार

एन प्याब्सनको तीज विशेष नृत्य प्रतियोगिता, विद्यार्थीको नृृत्य प्रतिभा प्रदर्शन

दाङ, ३ भदौ । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर तुलसीपुरमा आयोजित विशेष नृत्य प्रतियोगिताले विद्यार्थीहरूको लुकेका प्रतिभा उजागर गरेको छ ।

नेशनल प्याब्सन तुलसीपुर दाङको आयोजनामा सम्पन्न तीज विशेष सांस्कृतिक नृत्य प्रतियोगितामा अमृत एकाडेमी प्रथम, सगरमाथा बालबाटिका द्वितीय, शिखा इङ्गिलिस बोर्डिङ तृतीय र लोकप्रिय एकाडेमी सान्त्वना बनेका छन् । विजयी प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काले तीज पर्वले महिलाको संस्कार–संस्कृति मात्र होइन, विद्यार्थीको आत्मविश्वास र सिर्जनशीलता विकासमा पनि योगदान दिने बताउनुभयो । नगर अध्यक्ष सुमन केसीको अध्यक्षता तथा महाशाखा अधिकृत खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस्तै, नेशनल प्याब्सन जिल्ला अध्यक्ष शालिकराम कार्कीले सांस्कृतिक पर्वहरूले समाजमा आपसी मेलमिलाप र राष्ट्रिय एकता सुदृढ गर्ने उल्लेख गर्दै विद्यार्थीलाई किताबभन्दा बाहिर पनि गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले तीजका गीतमा नृत्य प्रस्तुत गर्दा वातावरण झनै उल्लासमय बनेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस