दाङ, ३१ साउन । मानव सेवा आश्रम तुलसीपुरले सडकमा आश्रय लिएकाहरूलाई उद्धार गर्ने अभियानलाई निरन्तरता दिएको छ। विगतका शनिबारझैँ यस शनिबार कृष्ण जन्माष्टमीको अवसरमा समेत मुसलधारे वर्षा बीच उद्धार तथा खोजी कार्य गरिएको हो।
सडक मानव मुक्त अभियानलाई प्रभावकारी बनाउन स्थानीय सरकार, प्रहरी, पत्रकार तथा व्यवसायीहरूको सक्रिय सहभागितामा शनिबार तुलसीपुर बजार परिक्रमा गर्दै सडकमा रात बिताउने व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको थियो। सो क्रममा कुनै पनि सडक आश्रित व्यक्तिहरू नदेखिएकोमा उद्धारकर्ताहरूले खुसी व्यक्त गरेका छन्।
मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले भन्नुभयो, “हाम्रो उद्देश्य कुनै पनि मानिसलाई सडकमा रात बिताउनु नपरोस् भन्ने हो। शारीरिक वा मानसिक रूपमा अशक्त भएकाहरूलाई परिवारको माया–प्रेम र आत्मसम्मानका साथ समाजमा पुनःस्थापित गर्नुपर्छ। हामी निरन्तर यस अभियानमा छौँ र जस्तोसुकै परिवेशमा पनि यसलाई जारी राख्छौँ।”
मानव सेवा आश्रमले यसअघि पनि नियमित रूपमा सडक उद्धार अभियान सञ्चालन गर्दै आएको छ। उद्धारपछि सडकमा आश्रितहरूलाई आश्रममा लैजाई उपचार, पुनःस्थापना र आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने काम गर्दै आएको आश्रमले जनाएको छ।




