२०८२ बैशाख ३० गते मङ्गलवार

सल्यानमा जीप खोलामा खस्यो

सल्यान, २६ बैशाख । सल्यानको टुनिबोटमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जीप दुर्घटनामा घाइते हुनेमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रा बस्ने ४२ वर्षीय कृष्णबहादुर विष्ट, ५० वर्षीय सुनिल प्रकाश शाह र ४२ वर्षीइ नवराज श्रेष्ठ रहेका छन् ।

घाइते तीनै जनाको त्रिवेणी गाउँपालिकाको लुहाम बजारमा रहेको एक मेडिकलमा उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । तीनै जना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

जीप शुक्रबार बिहान करिब ३ बजेतिर टुनिबोटमा दुर्घटनामा परेको हो । नेपालगन्जबाट सल्यानको त्रिवेणी गाउँपालिकाको लुहाम बजार आउँदै गरेको बा १३ च ११०९ नम्बरको जीप कपुरकोट गाउँपालिका–५ टुनिबोट नजिकै राप्ती राजमार्गको घुरखोलामा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस