२०८२ बैशाख ३० गते मङ्गलवार

अर्थतन्त्र सुधारमा सरोकारवालाको चासो


दाङ, २० बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले कृषि, पर्यटन र आइटी क्षेत्रको लगानी बढाउनुपर्ने बताउनुभएको छ । उहाँले सबै क्षेत्रमा आधुनिकरण भनिएपनि सरकारको लगानी घट्दै गएको बताउनुभयो ।

उहाँले अहिलेको अर्थतन्त्र इतिहासमै सबैभन्दा कठिन अवस्थामा पुगेको बताउनुभयो । उहाँले उच्च शिक्षाका लागि विद्यार्थी विदेश पढ्न जाने र विदेशमै स्थायीरुपमै बस्दा नेपालको अर्थतन्त्र धरासयी स्थितिमा पुगेको बताउनुभयो ।

उहाँले व्यवसायीको एकताको खाँचो औंल्याउँदै आर्थिक समृद्धिको लागि सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । तुलसीपुर उद्योग वाणिजय संघको ३० औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै राणाले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान रहेको तर सरकार अझ धेरै सक्रिय हुनुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान बजेट प्रणालीको आलोचना गर्दै ठूला योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक, विमानस्थल लगायतका पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले उर्जा क्षेत्रमा लगानी बढाउन सके मात्रै दीगो विकास सम्भव हुने बताउनुभयो ।

आर्थिक क्षेत्र चलायमान बनाउन महिलाको भूमिका पनि बढ्दै गएको भन्दै उहाँले महिलाहरु पनि अब निर्णायक तहमा पुग्नुपर्ने बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षता तथा महासंघका पूर्व अध्यक्ष राणाको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार संयोजक बिरु रावत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोखरेल, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ शाखाका निवर्तमान अध्यक्ष दुर्गालाल केसी लगायतले राज्यलाई निजि क्षेत्रको ठुलो सहयोग रहेको भन्दै व्यवसायीको राज्यले पनि सुरक्षा गर्नुपर्ने बताउनुभयो ।

संघका महासचिव केशवराज केसीले प्रगति तथा कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

यो पनि पढ्नुहोस् : तुलसीपुरमा रात्रिकालिन बजार संचालन गरिने

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस