२०८२ जेष्ठ ५ गते सोमवार

लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा सवारी दुर्घटनाबाट ३६ जनाको मृत्यु


दाङ, १२ बैशाख । लुम्बिनी प्रदेशमा चैत महिनामा सवारी दुर्घटनाबाट ३६ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको हो ।

प्रदेशका १२ वटै जिल्लामा चैत महिनामा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो । फागुनभन्दा चैतमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छ भने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ ।

बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छ भने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताउनुभयो । दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।

दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।

उहाँका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक/ ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् ।

सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस