
दाङ, ५ बैशाख । दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कृष्णनगरबाट तुलसीपुर आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–५ लठ्हवा नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ झिङ्गनी निवासी ३५ वर्षीया पुष्पा नेपाली र राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
दुर्घटनामा परेर १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शी बताएका छन् ।
कृष्णनगर नजिक रहेको भारतीय बजारमा किनमेल गरेर फर्किंदै गरेकाहरु बसमा सवार थिए । १३ जनालाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ भने दुई जना प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।