
दाङ, ३० चैत । तुलसीपुर उपमहानगरपालिकाको शनिबार भएको ३३ औँ स्थापना दिवस कार्यक्रम नेपाली कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
नगरप्रमुख टिकाराम खड्काको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यले शनिबारको ३३ औँ स्थापना दिवस कार्यक्रम बहिष्कार गरेका हुन् ।
कार्यक्रममा एमालेबाट निर्वाचित वडाअध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिति पनि निकै कम रहेको थियो । दर्शक दिर्घामा राखिएका अधिकांश कुर्सी खाली रहेका थिए । उपमहानगरपालिकाको प्रांगनमै राखिएको स्थापना दिवस कार्यक्रममा सेवाग्राही नागरिकको उपस्थिति समेत थिएन । स्टेजमा पनि नगरप्रमुख टिकाराम खड्का, प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दिपक गिरी लगायत केहि नेता र कर्मचारी मात्रै थिए ।
नगरप्रमुख खड्का एकलौटी ढंगले अघि बढ्न खोजेको कांग्रेस र माओवादीबाट निर्वाचित मात्र होइन्, एमालेबाटै निर्वाचित जनप्रतिनिधिले पनि बताउछन् । तर पछिल्लो पटक शनिबार (आज चैत ३० गते) विवाद सतहमै देखिएको हो ।
स्रोतका अनुसार शनिबारको ३३ औँ स्थापना दिवसमा लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यलाई प्रमुख अतिथि बनाउने तयारी थियो । तर कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गर्ने चेतावनी दिएपछि कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक गिरीलाई प्रमुख अतिथि बनाइएको थियो ।
गिरीलाई प्रमुख अतिथि बनाएपछि कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्य आउने नगरप्रमुखको आँकलन थियो । कांगे्रसबाट निर्वाचित जनप्रतिनिधिले समर्थन जनाएपछि माओवादीबाट निर्वाचित जनप्रतिनिधि पनि स्वत : समर्थनमै आउने विश्वास नगरप्रमुख खड्कालाई थियो । तर शनिबारको स्थापना दिवस कार्यक्रममा कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधि आएनन् । एमालेबाट निर्वाचित केहि जनप्रतिनिधिले पनि विभिन्न बहाना बनाएर कार्यक्रममा सहभागी भएनन् ।
कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधि झन् कोहि पनि सहभागी भएनन् । मेयर खड्काले कार्यशैली सुधार नगर्दासम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने कांग्रेसबाट निर्वाचित तुलसीपुर–९ का वडा अध्यक्ष तथा लेखा समितिका संयोजक घनश्याम ढकालले बताउनुभयो । ‘नगरप्रमुख टिकाराम खड्का एकलौटी ढंगले अघि बढ्न खोज्नुभएको छ, त्यो हाम्रा लागि कुनै पनि हालतमा मान्य छैन् ।’ उहाँले भन्नुभयो–‘मेयरले कार्यशैली सुधार नगर्दासम्म कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनौँ ।’
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि नगरप्रमुखको कार्यशैलीप्रति लामो समयदेखि असन्तुष्ट छन् । स्थानीय सरकारमा प्रतिपक्षि नहुने भएपनि नगरप्रमुख खड्काले प्रतिपक्षिको व्यवहार गरेको उनिहरुको आरोप छ । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु यसअघि पनि गत फागुन ३० गतेको १६ औँ नगरसभा बहिष्कार गर्ने योजनामा थिए । तर नगरप्रमुखले त्यसबेलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले राखेका माग सम्बोधन गर्ने सहमति गरेपछि नगरसभा संचालन भएको थियो ।
१६ औँ नगरसभाबाट असुन्तष्ट भएका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको आक्रोश गत २२ चैतको ३१ औँ कार्यपालिका बैठकमा पनि छरप्रष्ट देखियो । कार्यपालिका बैठकमा कुर्सीले हानाहानको स्थिति समेत भएको थियो । कार्यपालिका बैठकबाट विवाद हुनुको प्रमुख कारण शिक्षक सरुवा हो ।
नगरप्रमुख खड्काले सम्बन्धित वडाअध्यक्षलाई नै जानकारी नदिएर शिक्षक सरुवा गर्न खोजेपछि विवाद छताछुल्लको स्थितिमा पुगेको हो । माओवादीबाट निर्वाचित तुलसीपुर–१६ का अध्यक्ष शिवानन्द डिसीले कुराकानी गर्दै नगरप्रमुख शिक्षालाई अस्तव्यस्त बनाउने गरी एकलौटी ढंगले सरुवा गर्न खोजेको बताउनुभयो ।
‘तुलसीपुरमा शिक्षास्तर खस्किन थालेको प्रमाण पछिल्लो नगरस्तरिय नतिजा छ, यस्तो अवस्थामा पनि अस्तव्यस्त बनाउने गरी शिक्षक सरुवा गर्न खोजिएकोमा हाम्रो असन्तुष्टी छ ।’ उहाँले भन्नुभयो–‘शिक्षक सरुवा गर्दा कम्तिमा पनि सम्बन्धित वडाअध्यक्षलाई जानकारी हुनुपर्छ कि पर्दैन ।’
स्थानीय सरकारमा सत्ता पक्ष र प्रतिपक्ष नहुने भएपनि नगरप्रमुख खड्काले त्यो किसिमको व्यवहार गर्नुभएको उहाँको गुनासो छ । ‘शिक्षक सरुवा, बरुवाकै विषयमा नगरप्रमुखले पक्ष कि विपक्ष भन्नुभयो, त्यसपछि पक्षमा ११ मात्रै पाउनुभएको थियो ।’उहाँले भन्नुभयो–‘नगरप्रमुखको त्यो कार्यशैली सुधार नगर्दासम्म हामी सबै कार्यक्रम बहिष्कार गछौँ ।’
यस विषयमा नगरप्रमुख टिकाराम खड्कासंग कुराकानी गर्न खोज्दा उहाँले मोबाइल नै स्विच अफ गर्नुभएको छ ।