२०८२ जेष्ठ ५ गते सोमवार

मधेसमा बन्द गराइएका स्वास्थ्य संस्था फेरि खुल्दै


मधेस प्रदेशमा मापदण्ड विपरित रहेको पाइएपछि बन्द गर्न भनिएका अधिकांश अस्पताल खुलेयाम चलेको पाइएको छ । यही चैत १ गते मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाही सदरमुकाम मलंगवाका अस्पतालको अनुुगमन गरी अवैधरुपमा सञ्चालित १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिनुुभएको थियो ।

तर, ती अस्पताल अहिले खुलेयाम सञ्चालनमा छन् । बन्द गर्न भनिएका अधिकांश अस्पताल कहीँकतै दर्ता छैनन् । कतिपय अस्पताल महिनौँसम्म नवीकरण गरिएका छैनन् । पूर्व प्रधानाध्यापक रजनीकान्त झाले स्वास्थ्य क्षेत्रको सुधारमा मुख्यमन्त्री सिंहको प्रयास सराहनीय भए पनि निजी अस्पतालको दर्ता र नवीकरणमा अनेक आलटाल र अनियमिता हुने गरेकाले यसलाई पनि नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयकाअनुसार मुख्यमन्त्री सिंहको अनुगमनपछि अहिलेसम्म एक सयभन्दा बढी अवैध अस्पताल बन्द गराइएको छ । बन्द गराएको अस्पतालको निगरानी गर्न र अटेरी गरे पक्राउ गरेर कारवाही गर्न पनि प्रहरीलाई मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको छ । स्वास्थ्य क्षेत्रको बेथिति नरोकिएसम्म अनुगमन र कारबाहीको काम नरोकिने उहाँको भनाइ छ । स्वास्थ्य संस्था दर्ता भए नभएको मात्रै नभइ, सरकारी अस्पतालमा अनुुगमन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीले डिउटी गरे/नगरेको निगरानी पनि मुख्यमन्त्रीतर्फबाट भइरहेको छ ।

सर्लाही हरिपूर्वाका २५ वर्षीया बबिताकुमारी यादव जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि हप्तौँसम्म बेहोस हुँदासमेत अस्पतालले बन्धक बनाएको समाचार बाहिरिएपछि मुख्यमन्त्री सिंहले प्रदेशभरका अस्पतालको अनुगमन अभियानमा लाग्नुभएको हो । अस्पतालसँगै केही दिनदेखि होटलहरूमा सरसफाई र ग्राहकलाई खुवाइने खानाको गुणस्तरको अनुुगमनमा पनि मुख्यमन्त्रीले सक्रियता देखाउनुभएको छ ।-सामुदायिक सूचना नेटवर्क (सिआईएन)बाट

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस