
बुटवल, १४ चैत । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ ।
सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ ।
सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रु दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिएपनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो ।
दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण बनेको यात्रु जीवन ढकालले बताउनुभयो । धुलो, धुवासँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो।’ दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ ।
चालक वसन्त खनालले १४ किलोमिटरको बाटो पार गर्न दुई–तीन घण्टा लाग्ने बताउनुभयो । उहाँले लगातार धुलो खेप्नुपर्ने, गाडी हल्लिने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामीले समयमा सडक निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण रहेको सुनाउनुभयो ।
सडक विस्तारको कामअन्तर्गत कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । दाउन्ने क्षेत्रमा अधिकांश बाटो एकतर्फी मात्र सञ्चालनमा छन् ।
एकतर्फी बाटोमा मालवाहक सवारीसाधन बिग्रँदा घण्टौँ आवागमन ठप्प हुने गरेको प्रहरी नायब निरीक्षक तनगामीले बताउनुभयो ।
नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ ।
कल्भर्ट तथा बाँकी पुलको निर्माण, १३ स्थानमा बेस तथा सब–बेसका कामहरू भइरहेका छन् । दाउन्ने क्षेत्र पहाड भएकाले कटानको काम चलिरहेकाले यात्रा कष्टपूर्ण छ । आयोजनाअन्तर्गत पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति ५७ दशमलव सात प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।
उनका अनुसार नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।
१७ अर्ब लागतमा निर्माण सुरु भएको यस आयोजनामा समयमा काम नभएपछि हालसम्म तीनपटक म्याद थपिएको छ। तेस्रो पटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिने छ ।