
दाङ, ५ चैत । सल्यानको बागचौर–४ की डेनिशा बस्नेतले होटल म्यानेजमेन्ट अध्ययनसँगै विभिन्न परिकार बनाउन दक्षता हासिल गरेकी छिन् । डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बस्नेतले सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्समा एक महिने प्रयोगात्मक प्रशिक्षण लिएकी थिइन् ।
प्रशिक्षणमा उनले ३० भन्दा बढी परिकार बनाउन सक्ने सीप आर्जन गरेकी छिन् । प्रशिक्षक शेफ पवन बस्नेतको मार्गदर्शनमा उनले कुकुम्बर स्टफिङ, मशरुम सुप, चिकेन टिक्का मसला, साइड डिस राइस, पुडिङ, पिज्जा, बर्गर, चिकेन सोर्मा, चिकेन कोर्मा, क्रिम टोमाटो सुप, भेज स्टोगेन्फ, रसियन सलाद, भेज मंचुरियन, ग्रिल चिकेन लगायतका स्वदेशी तथा विदेशी परिकार बनाउन सिकेकी छिन् ।
डीभाइन टेम्पल एकेडेमीका संस्थापक अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसाल, रोट्र्याक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन, एएन प्याब्सनका केन्द्रीय सदस्य विमल गौतमलगायतका वक्ताहरूले होटल म्यानेजमेन्ट क्षेत्रले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै गर्न उपयुक्त अवसर प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक पवन बस्नेतले होटल म्यानेजमेन्ट क्षेत्र अन्य विषयहरूभन्दा छिटो आम्दानी गर्न सकिने क्षेत्र भएको जानकारी गराउनुभयो । कार्यक्रमको सहजीकरण एकेडेमिक कोअर्डिनेटर जीवन लामिछाने र इसिया कोअर्डिनेटर आकाश सिंहले गर्नुभएको हो ।