२०८२ बैशाख ३० गते मङ्गलवार

नेपालको उपाधि जित्ने सपना अधुरो


दाङ, १४ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने नेपालको सपना बुधबार पनि पूरा हुन पाएन ।

दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा म्यानमारले नेपाललाई २–० ले पराजित गरेको हो ।

खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन र म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो ।

यु पर किनले खेलको ६२ औं मिनेटमा गरेको गोलको मद्दतले म्यानमारले अग्रता लिएको थियो ।

एक गोलले पछाडि रहेको स्थितिमा नेपाल थप दबाबमा आयो र गीता रानाले ६४ औं मिनेटमा आत्मघाती गोल गर्नुभयो । विनको प्रहार जोगाउन क्रममा गीताले बललाई आफ्नै पोस्टको दिशा दिनुभयो । खेलको ७० औं मिनेटमा रश्मिकुमारीको प्रहार म्यानमारकी गोलरक्षक म्यो म्या म्याले जोगाउनुभयो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको थियो । म्यानमारकी सान थउ थउले २४ औं मिनेटमा गरेको प्रहारलाई गोल लाइनबाट विमला विकले जोगाउनुभयो । यस्तै खेलको ३५ औं मिनेटमा सावित्रा भण्डारी, रेखा पौडेल र सविता रानामगरले लगातार मौका पाए पनि त्यो निर्णायक सावित हुन सकेन ।

नेपालले खेलेको यो १३ औं फाइनल हो र ती सबैमा नेपाल पराजित रहेको छ । नेपालले म्यानमारको सामना गरेको यो छैटौं खेल हो । यसमध्ये नेपालले अहिलेसम्म कुनै पनि जित निकाल्न सकेको छैन ।

नेपालको चार दशकयता पहिलो उपाधि जित्ने सपना अधुरै रहेको छ । सन् २०१९ मा भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकपको फाइनलमा पनि म्यानमारले नेपाललाई नै हराएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस