
सल्यान, १० फागुन । कपुरकोट गाउँपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कपुरकोट–६ स्थित भवानी माविले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ ।
फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भवानी माविले १७ स्वर्ण, ११ रजत र २० काश्य पदक गरी कुल ४८ पदक जितेर प्रथम उपाधि जित्न सफल भएको हो ।
यसैगरी १२ स्वर्ण, ११ रजत र ११ काश्य पदकसहित जीवन ज्योति मावि रिम दोस्रो भएको छ भने तेस्रो स्थान हुने नेपाल राष्ट्रिय मावि, कपुरकोट–४ ले १२ स्वर्ण, ११ रजत र ११ काश्य पदक जितेको छ ।
प्रतियोगिता कपुरकोट गाउँपालिकाका माध्यमिक विद्यालयस्तरका पाँच विधाका विभिन्न इभेन्टमा गरिएको हो । कपुरकोट–३ स्थित कालिका माविमा आयोजित खेलमा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न योगदान दिने बताउनुभयो ।