
नवलपरासी, ७ फागुन । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार नवलपरासी पश्चिमको बर्दाघाट नगरपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका ८० ग्राहक सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।
केन्द्र नम्बर १९ की केन्द्र प्रमुख शम्भु कुमारी चौधरीको अध्यक्षता तथा बर्दाघाट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यतामा भुपु सैनिक कल्याणकारी संस्थाको सभाहल, भुलाहामा कार्यक्रम गरिएको हो ।
तालिमको संञ्चालन पन्चनगर शाखाका कर्मचारी शर्मिला गिरिले गर्नुभयो । संस्थाका लोक बहादुर गाहाले वित्तीय साक्षरताको महत्व तथा आवश्यकताका बारेमा समेत चर्चा गर्नुभयो ।
कार्यक्रममा शाखा प्रमुख किरण भण्डारीले शाखाको प्रतिबेदन प्रस्तुत गर्दै वित्तीय साक्षरताको अभावले गर्दा समुदायमा मानिसहरुले दयनीय जीवन बिताउन वाध्यहुने विषयमा चर्चा गर्नुभयो ।
तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतका उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर, विप्रेषण सेवा, खर्च प्राथमिकता र चुहावटको रोकथाम, ब्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोग, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएका थिए ।
वित्तीय साक्षरता तालिममा तालिमको बारेमा सिटिजन इन्टरनेसनल बैंकका भुलाहा शाखा प्रमुख उमेश यादव, संस्थाका जोखिम तथा कर्जा असुली विभाग प्रमुख खेम नारायण रेग्मी, अनुगमन अधिकारी गङ्गा सापकोटा, सुनवल शाखाका प्रमुख पदमा कुमारी गैरे लगाएतले प्रशिक्षण तथा मन्तव्य राख्नुभएको हो ।
कालिका लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम राखी निम्न आयस्रोत भयका र साना पुजीका लगानीलाई कसरी व्यवस्थापन गर्नेबारे साक्षरता प्रदान गर्नेगरि कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथी चापागाईंले खुसी ब्यक्त गर्नुका साथसाथै यस किसिमको तालिमले उनिहरुको आर्थिक उन्नतिमा टेवादिने विषयमा चर्चा गर्नुभयो ।
शाखा प्रमुख किरण भण्डारीले संस्थाले ग्राहक सदस्यहरुलाई कर्जा तथा बचतको साथसाथै वित्तीय साक्षरता तालिम, उद्यमशीलता विकास तालिम, सिपविकास तालिम तथा अन्य विभिन्न तालिमहरु पनि संचालन गर्दै लैजाने जानकारी गराउनुभयो ।