२०८२ जेष्ठ ५ गते सोमवार

होटल तथा पसलमा छड्के : अखाद्यवस्तु फेला, खानेकुरामा रंगको अत्याधिक प्रयोग


दाङ, ६ फागुन ।
तुलसीपुरमा जारी दास्रो तुलसीपुर महोत्सवमा संचालित होटल तथा पसलमा मंगलबार अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा अधिकांश होटलका परिकारमा अखाद्य रंग मिसावट भेटिएको छ भने होटलमा म्याद गुज्रिएका सामग्रि फेला पारिएको छ । समस्या देखिएका होटलमा तत्काल सुधार गर्न सुझाव दिइएको छ ।

अखाद्य म्याद गुज्रिएका वस्तु नष्ट गरिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो । यस्तै दालमोट लगायतका वस्तु नियमविपरित प्याकिङ गरिएको फेला परेको छ ।

रुपन्देहीको कन्फेक्सनरी र श्रीराम कन्फेक्सनरी उद्योगले मिठाइ, दालमोट प्याकिङ नगरी पठाएको हुँदा एक पटकलाई सचेत मात्र गराएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले बताउनुभयो । अनुगमनका क्रममा तुलसीपुर–६ का अध्यक्ष दुजमान भण्डारी वर्षातले स्वास्थ्य माथि गम्भिर खेलवाड हुने गरी अखाद्य वस्तु बिक्रिवितरण गरेको भेटिए कार्बाही गरिने चेतावनी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा, खाद्य प्रविधि तथा नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, ईलाका प्रशासन कार्यालय तुलसीपुर, तुलसीपुर उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिको सहभागीतामा अनुगमन गरिएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस