२०८१ चैत्र ८ गते शुक्रवार

दोस्रो तुलसीपुर महोत्सव आजदेखि शुरु

दाङ, १ फागुन । दाङको तुलसीपुरमा आजदेखि दोस्रो तुलसीपुर महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्नुभएको हो ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री न्यौपानले रोजगारीका युवा विदेश पलायन हुने अवस्था रोक्न देशमा रोजगारीका अवसर सिर्जना गर्न नेतृत्व गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।

रोजगारीका लागि घर परिवार छोडेर विदेशिन बाध्य युवालाई देशमा सरकार छ भन्ने अनुभुति दिनुपर्ने उहाँको भनाई छ । उहाँले फरक फरक प्रकृतिका व्यवसायमा आर्कषित गर्न राज्यले आवश्यक नीति बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, घरेल तथा साना उद्योगम महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसी, तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले महोत्सव स्थानीय वस्तुको बजारीकरण र कलासंस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

महोत्सव उद्घाटन अघि झाँकी तथा शोभा यात्रा गरिएको छ । झाँकी तथा शोभायात्राले तुलसीपुर बजार परिक्रममा गरेको थियो । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ संचालित दोस्रो तुलसीपुर महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा संचालनमा आएको हो ।

स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गरिएको हो । महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ ।

यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीयस्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने लोक नृत्य तथा झाँकी, बालउद्यान रहने छ ।

महोत्सवमा प्रवेशका लागि १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकले निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा संचालन भएको महोत्सव १६ गते सम्म संचालन हुने छ । महोत्सवमा ५ सय बढि स्टलहरु राखिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस