
दाङ, १ फागुन । तुलसीपुरमा बुधबार राति दुईवटा मोटरसाईकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।
तुलसीपुर–९, दोघरे पेट्रोल पम्प अगाडि दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जाँदै गरेको प्र. ५–०२–००१ प ०४८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ३ प ४६७३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट गंगादेव गाउँपालिका–१ रोल्पाका ३४ वर्षीय नविन वली घाइते भएको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो । वलीको दायाँ खुट्टामा चोट लागेको छ ।
उहाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार अवस्था मध्यम रहेको छ ।
दुर्घटनामा संलग्न रा ३ प ४६७३ नम्बरको मोटरसाइकलका चालक तुलसीपुर–८ कृष्ण मन्दिरका १८ वर्षीय गंगाराम डाँगी र दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।