२०८१ चैत्र ८ गते शुक्रवार

सरिया लोड गरेको ट्याक्टर पल्टिँदा चार जना घाइते


दाङ, २९ माघ ।
तुलसीपुरमा सरिया लोड गरेको ट्याक्टर पल्टिँदा चार जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–११ उरहरी चोक नजिक सरिया लोड गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

दुर्घटनामा परी भारत, उत्तर प्रदेश सिद्धार्थनगर घर भई हाल तुलसीपुर–६ स्याउली बजार बस्ने ४० वर्षिय ओम प्रकाश लोधी, १८ वर्षिय कंचन कुमार लोधी , २५ वर्षिय बाबुलाल लोधी र रामकृष्ण लोधी घाइते हुनुभएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । तुलसीपुरबाट फुलवारीतर्फ जाँदै गरेको रा १ त १४२३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा ट्याक्टरमा सवार ६ जनामध्ये चार जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस